चैतमा १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स, ९ महिना पौने ११ खर्ब 



काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०.८१ को ९ महिना (साउन–चैत) मा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैङ्कले जनाएको छ । चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ ।

अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ । यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको हो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण १३.९ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी आएको छ । यस अवधिमा संस्थागत रूपमा श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २९ हजार ४२२ रहेको छ । अघिल्लो वर्ष यो सङ्ख्या ३ लाख ८७ हजार ८३९ जना रहेको थियो । यो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्ष यो सङ्ख्या २ लाख १७ हजार ९५९ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्