गौतम बुद्ध क्रिकेट रङ्गशालाको टेन्डर रद्द



टेन्डर

काठमाडौँ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जानकारी गराएको हो ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार ९भोलि० नयाँ टेन्डर आह्वान गरिने जानकारी गराएका छन् । महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो ।

३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डर एक मात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो । ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको छ ।

महानगरले यसअघि १ अर्ब १० करोडको ठेक्का आब्हान गरेको थियो । महानगरले यसअघि ५७ करोडभन्दा बढीको टर्न ओभर भएको र रंगशालासम्बन्धी काम गरेको हुनुपर्ने मापदण्डमा बनाएको थियो ।

सङ्घीय सरकारसँग पनि रङ्गशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । सङ्घीय मन्त्रिपरिषद्को गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।सरकारको मंगलबारको नीति तथा कार्यक्रममा पनि रङ्गशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

धुर्मस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिगाहा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउन्डेसनले निर्माण थालेको रङ्गशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।

कुल ३० हजार दर्शक क्षमताकोे रङ्गशालाको प्यारापिटमा ३ हजार दर्शक बस्न मिल्ने प्यारापिट बनिसकेको छ । प्यारापिटका लागि २८६ पिलर उभ्याइएको छ । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउन्डेसनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्