केपी ओली संसद् विघटनसम्म पुर्‍याउन खोज्दै : शेखर कोइराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्‍याउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी निकट बुद्धिजीवीहरूको सङ्गठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्‍याउन खोजेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एमाले ७६(३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्ड जीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ ३ मा गइसकेपछि (ओली) कसैलाई स्विकार्ने पक्षमा हुनुहुन्न ।’

संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५)अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद् सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।

उनले भने, ‘धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद् विघटन गरिकन दुई अढाई वर्ष पहिले संसद् विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शङ्का गरिरहनुपर्दैन ।’

अब काँग्रेसले यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । नेता कोइरालाले सङ्घीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताएका छन् । अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्