दीपेन्द्रसिंह ऐरी टी-२० विश्व वरीयताको अलराउन्डरको सूचीमा शीर्ष १० मा



काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी एक स्थान माथि उक्लँदै दसौँ स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बङ्गलादेशका शकिब अल हशन छन्।

दोस्रो स्थानमा श्रीलङ्काका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौँ र नवौँ स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन्।

दसौँ स्थानमा रहेका नेपालका दीपेन्द्रले पाकिस्तानका शादब खानलाई पछि पारेका हुन्। अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औँ, गुल्सन झा ६०औँ, रोहित पौडेल ६५औँ  र करण केसी ७४औँ स्थानमा छन्।

दीपेन्द्र ब्याट्सम्यानतर्फको वरीयतामा ५०औँ स्थानमा छन्। यो वरीयतामा रोहित पौडेल ६१औँ र आसिफ शेख ८६औँ स्थानमा छन्। ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन्।  बलरको वरीयतामा शीर्ष सय भित्र नेपालका सोमपाल कामी (९२औँ स्थान) मात्र छन्। बलरको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल रसिद छन्।

प्रतिक्रिया दिनुहोस्