सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै



काठमाडौँ । भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् ।

सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने छ । पाकिस्तान विरुद्ध २००५ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका सुनिलले भारतका लागि १५० खेल खेल्दै ९४ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने तालिकामा चौथो स्थानमा रहेका छन् ।

मोहुन बगानबाट सिनियर फुटबल करियरको सुरु गरेका क्षेत्री हाल इंडियन सुपर लिग टोली बेंगलूरु फुटबल क्लबका आबद्ध छन् ।

सुनिले भारतका लागि २०११, २०१५, २०२१ र २०२३ गरी चार पटक साफ च्याम्पियन्सिप जितेका छन् । यस्तै उनले तीन पटक नेहरु कप उपाधि जितेका छन् भने २००८ मा एएफसी च्यालेन्ज कप जित्दै भारतलाई २०११ को एसियन कपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि २०१९ /२०२३ गरी दुई एसियन कपमा छनोट हुँदा पनि उनले ठुलो भूमिका खेलेका थिए ।

सुनिलले २०११ मा प्रतिष्ठित अर्जुना अवार्ड जित्दै २०१९ का भारतको चौथो ठुलो नागरिक सम्मान पद्मश्रीले समेत सम्मानित भएका थिए । २०२१ मा भारतको सर्वश्रेष्ठ खेलकुद समान खेल रत्न जित्दै सो उपाधि जित्ने पहिलो फुटबलर समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्