नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित



काठमाडौँ । टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिवार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै शृङ्खला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो ।

२ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७।२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो । कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाउनु बाहेक अरू ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । विनवार्ड्सका डैरोन नेड र कभेम होजले समान ३ र निकलस रेडहेड र डिन ब्राउनले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २ सत ५ रन बनायो । डिलनले ३२ बलमा ५६ रन बनाए । शाद्रकले २७ बलमा ५५ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए । तेस्रो खेलमा नेपालले अघिल्लो टोलीमा रहेका ३ खेलाडी परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।

अब नेपाली‌ टोली अमेरिका जानेछ । ह्युस्टनमा मे २२/ २३ मा २ अभ्यास खेलपछि टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्