संसद्मा गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलको निर्णय



रवि लामिछाने

काठमाडौँ । विपक्षी दलहरूको मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएका छन् । आज बसेको विपक्षी दलको बैठकले संसद्मा आफूमाथि उब्जेका प्रश्नबारे बोल्न दिने निर्णय गरेको हो । लामिछानेले दिएको जवाफमा चित्त नबुझे फेरि संसद् अवरुद्ध गर्ने तयारी विपक्षी दलले गरेका छन् ।

विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहान संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलका नेताहरूको संयुक्त बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने सहमति बनेको हो ।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग काँग्रेसले गर्दै आएको थियो । काँग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरूले पनि समर्थन जनाएका छन् ।

गतिरोध अन्त्यको प्रयासमा शनिवार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरूको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर, संसदीय समितिको कार्यादेश टुङ्गो लागेको छैन । कार्यादेश टुङ्गो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदलमा काँग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्