प्रधानमन्त्रीले लिए विश्वासको मत



प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

संसद् बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससहित विपक्षी दलहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरूले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरूले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए ।

त्यसपछि सुरु भएको बैठकमा पनि काँग्रेससहितका विपक्षी दलहरूले नाराबाजी जारी राखे । विरोधका बिच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले ।

वेलसम्म पुगेका विपक्षी दलहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरूले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मङ्गलवार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्