बालेनले माओवादी र रास्वपा कार्यालयमा फोहोर बोकेको ट्रक पठाए र भने,कसैलाई बाकिँ छाडिँदैन !



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबार दिउँसो फोहोर बोक्ने ट्रकका चालक पक्राउ परेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए ।

‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’बालेनको यो स्टाटस काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध गरेको घटनासँग सम्बन्धित रहेको छ ।

शनिवार देखी बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेको थियो । उनीहरूले फोहोर लिएर जाने गाडीलाई अवरोध गर्ने क्रममा फोहोर बोक्ने निजी कम्पनीका चार वटा गाडीमा क्षति भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

त्यसपछि महानगरपालिकाले प्रशासनसँग अनुरोध गरेर अवरोध खुलाउन भने पनि जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सहयोग नगरेको महानगरपालिकाले जनाएको छ ।

सोमबार विहान महानगरपालिकाको फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पेरिस डाँडा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेका थिए । त्यहाँबाट फोहोर बोक्ने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसपछि काठमाडौँ महानगरपालिकाले सोमबार बिहान फोहोर बोकेको ४ ट्रक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा र ४ वटा गृहमन्त्री रवि लामिछानेको पार्टी कार्यालय बनस्थलीमा पठाएको थियो ।

रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परेका थिए । त्यसपछि मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेको र स्टाटस लेखेको केहीबेरमा ट्रक चालकहरु रिहा भएका र बञ्चरेडाँडाको अवरोध पनि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्