फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै



काठमाडौँ । इंडियन प्रिमियर लिग (आईपिएल)२०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७स्४५ बजे अहमदाबादमा सुरु हुनेछ ।

यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए । कोलकत्ता लिग चरणका १४ खेलमा ९ जित, ३ हार र २ रद्द खेल सहित २० अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल रह्यो ।

उता हैदराबादले १४ खेलमा ८ जित, ५ हार र १ रद्द खेल सहित १७ अङ्क बटुल्दै दोस्रो स्थान हासिल गर्‍यो । लिग चरणको अन्तिम खेलमा राजस्थान र कोलकत्ता बीचको खेल वर्षाका कारण रद्द भएपछि हैदराबादको दोस्रो स्थान पक्का भएको थियो ।

यी दुई टोली लिग चरणमा एक पटक मात्र भिडेका थिए । सो खेल कोलकत्ता ४ रनले जितेको थियो । कोलकत्ताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २०४ रन मात्र बनाउन सक्यो ।

कोलकत्ता दुई पटकको आईपिएल विजेता हो । कोलकत्ताले २०१२ र २०१४ मा उपाधि जिएको थियो । उता हैदराबादले २०१६ मा एक मात्र उपाधि उचालेको थियो ।

आजको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल पुग्नका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । सो अवसर तेस्रो र चौथो स्थान हासिल गरेका राजस्थान र बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्