कान्तिपुरका अध्यक्ष सिरोहिया थप ३ दिन हिरासत राख्न अनुमति



काठमाडौँ । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।दुई पटक ३/३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो ।

तर जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । सोमबार उनलाई काव्य अस्पतालबाट एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो ।

नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया ८ जेठमा पक्राउ परेका थिए । उनी स्वास्थ्यमा समस्या आएको भन्दै गत शुक्रवार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्