आरोही कल्याणकारी कोष स्थापना गरिने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित ७१ औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आरोहीहरूको भविष्यको सुरक्षा र खास गरी शेर्पा जातीको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण हुने उनको भनाइ रहेको छ ।

उनले आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने र आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताए।

जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र हिमालमा पोहोर मैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दे हिमालमा प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको उनको भनाइ रहेको छ ।

उनले भने, म तपाईँहरूलाई के विश्वास दिलाउँछु भने अर्थ मन्त्रालयसँग कुरा गरेर आरोही कल्याणकारी कोष बनाउने पहल हुनेछ। यस क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाको बारेमा ध्यानाकर्षण भएको छ । त्यसमा पनि मैले पहल लिनेछु । यस क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल गर्नेछु।’

प्रधानमन्त्री दाहालले पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भइसकेको बताए। उनले हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको उल्लेख गरे।

जलवायु परिवर्तनको असरको चपेटामा सर्वोच्च शिखर सहितका अन्य हिमशृङ्खलाहरू परेको भन्दै हिमालको संरक्षणमा सबै जुट्न आवश्यक रहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्