काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान



काठमाडौँ । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसै गरी, आज राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफा रहने छ । कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम बुधवार देखी पुनः बढेको छ । गत मङ्गलवार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधवार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्