पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई राहत-१० वर्षको सजाय रद्द 



काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका संस्थापक इमरान खानलाई सिफर मुद्दामा ठुलो राहत मिलेको छ । इस्लामावाद उच्च अदालतले प्रमाणको अभावमा इमरान खानलाई दिइएको १० वर्षको सजाय रद्द गरेको छ । इमरानसँगै उनका सहयोगी तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीको सजाय पनि रद्द गरिएको छ ।

ट्रायल कोर्टले सुनाएको सजायको विरुद्धमा याचिका दायर गरेपछि आईएचसीको दुई सदस्यीय बेन्चले सोमबार पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई सफाइ दिएको छ।

७१ वर्षीय इमरान खानलाई वासिङ्टनस्थित पाकिस्तानी दूतावासले पठाएको गोप्य कूटनीतिक केबल ९सिफर० चुहावट गरेको अभियोगमा अफिसियल सेक्रेट एक्ट अन्तर्गत मुद्दा दायर गरिएको थियो। त्यसपछि पाकिस्तानको विशेष अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको थियो ।

 यो विषय राष्ट्रिय सुरक्षासँग जोडिएको थियो । इमरान खानमाथि अत्यधिक गोप्य सूचनाको व्यक्तिगत प्रयोग गरेको आरोप छ। तर, सत्ताबाट हटाइएपछि इमरान खानले आफूलाई हटाउनुको पछाडि अमेरिका रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्