नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस



काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाएको छ । जेठ २३ गते वृक्षारोपण कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाएको हो ।

ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर  चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तव सहभागी रहेका थिए ।

 कार्यक्रममा कैयौँ राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।

नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए । नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । उक्त कार्यक्रममा सहभागीहरूले १५० वटा वृक्षहरू रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्