विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित



काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।

न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २-२ गोल गर्‍यो ।

नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।

युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २-० को अग्रता दिलाएका थिए । उनले खेलको १२औँ मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए ।

यस्तै १४औँ मिनेटमा अली सालेह अमरोले मिलाएको पासलाई अबदलल्ले बक्स भित्र कन्ट्रोल गर्दै एक खेलाडीलाई छलाउँदै दोस्रो गोल गरे ।

दोस्रो हाफमा युएईले दुई गोल थप्यो । अली सालेहले ५३औँ र हाजेन मोहमम्दले ७५औँ मिनेटमा गोल गरे ।

नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ । पाँच खेल हारेको नेपाल अन्तिम खेलमा गोल गर्ने र अङ्क जोड्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्