श्रीमती हत्या आरोपमा नेपाली सेनाका जवान पक्राउ



काठमाडौँ । दाङमा श्रीमतीको हत्या  आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन्। आज  बिहान  दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या  गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम बुढाथोकीलाई पक्राउ गरिएको हो ।

बिहानै  हत्या  गरेर फरार रहेका  बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सल्यान  जिल्लाको  कपुर कोट ६घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने सालिकराम  इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्