
काठमाडौं : काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ ।
महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार अध्ययनका लागि महानगरले चालू आर्थिक वर्षको बजेटमै २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘उपयुक्त भए बन्द रहेको जनमैत्री अस्पताल खरिद गर्ने कि भन्ने पनि छ, अन्य अस्पतालहरू वा भवन खरिद गरेर सञ्चालन गर्न पनि सकिन्छ,’ कार्कीले भने, ‘अध्ययनको प्रतिवेदन के आउँछ सोहीअनुसार गर्छौं ।’
यसअघि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको महानगरपालिकाले अब ६१ प्रकारको औषधि वितरण गर्ने भएको छ ।
महानगरपालिकाको आफ्नै बजेटबाट थप २६ प्रकारको औषधि किनेर बिरामीलाई बाँड्न लागेको स्वास्थ्य विभागमा कार्यरत जनस्वास्थ्य निरीक्षक महेन्द्र गिरीले बताए । नयाँ औषधिहरूमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोललगायत रहेका छन् ।
महानगरमा वृद्ध–वृद्धाको संख्या धेरै रहेको र अधिकांशमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, दमलगायतका समस्याबाट ग्रसित रहेकाले थप औषधि निःशुल्क उपलब्ध गराउन लागिएको उनले जानकारी दिए । आजको नयाँ पत्रिकामा समाचार छ।