आईसीसी टी-२० विश्वकप २०२४: नेपाल सुपर-८ को दौडबाटै बाहिरियो



loss

काठमाडौँ । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ को दौडबाटै बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी-२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर-८ यात्राबाट बाहिरिएको हो ।

नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजाविहीन हुँदै १ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।अन्तिम खेल नेपालले आइतबार बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल जिते पनि ३ अङ्क मात्रै हुन्छ ।

दक्षिण अफ्रिका ४ खेलमा ८ अङ्कका साथ अपराजित रहँदै सुपर-८ मा पुगेको छ । बङ्गलादेश ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैको कारण नेपालको यात्रा समूह चरणबाटै समाप्त हुने भएको छ । दक्षिण अफ्रिकाविरुद्ध नेपाल विजयी भएको खण्डमा ४ अङ्कका साथ सुपर-८ खेल्ने सम्भावना कायमै रहन्थ्यो ।

११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपाललाई अन्तिम २ बलमा जित्न २ रन चाहिएको थियो । तीव्र गतिका बलर आटनिल बार्टमानले दुवै बल गुलशन झालाई डट राख्दै नेपाललाई १ रनको हारले स्तब्ध पारे । अन्तिम बलमा गुलशनले बल छुन नसके पनि नन स्ट्राइकमा दौडिनेक्रममा ब्याट राख्न थोरै ढिलो भएपछि रन आउट हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्