नेपालले २०२६ को टी-२० विश्वकपमा सोझै पुग्ने अवसर पनि गुमायो



काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिँदा नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर र सुपर ८ मा पुग्ने अवसर गुमाएको छ ।

अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिवार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो ।

भारत र श्रीलङ्का आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

आईसीसीको टी-२० आई वरीयतामा नेपाल १८औँ स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ । हालसम्म टी-२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्