ब्याटिङ नचल्दा नेपाल अन्तिम खेलमा पनि पराजित



काठमाडौँ । टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो । जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ ।

कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे ।  दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् ।

बङ्गलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन बटुले । नेपाली बलरको दबाबमा परेका कुनै पनि बङ्गलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्