काँग्रेस सांसद रामहरि खतिवडाले दिए भौतिक पूर्वाधार मन्त्रीलाई ५ रुपैयाँ



रामहरि खतिवडा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल काँग्रेस सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै विरोध जनाएका छन् ।

मङ्गलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक शीर्षक माथिको छलफलमा भाग लिँदै खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमार्फत ८ अर्ब धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि त्यहीँ लैजान भनेका हुन् ।

उनले ओखलढुङ्गाको महत्त्वपूर्ण सडकका लागि बजेट माग गर्न खोज्दा मन्त्री महासेठलाई भेट्नसमेत नपाएको बताए ।

भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई ध्यान दिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र धनुषा ३ मा बजेट खन्याएको उल्लेख गरे । धनुषा ३ महासेठकी पत्नी जुलीकुमारी महतो निर्वाचित भएको निर्वाचन क्षेत्र हो ।

‘यतिले पनि पुग्दैन भने १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको बजेट पनि त्यही २ वटा क्षेत्रमा दिऊँ,’ उनले ५ रुपैयाँको नोट निकाल्दै भने, ‘यतिले पनि नपुग्ने देखेकाले खर्च कटौती होइन म पाँच रुपैयाँ थप्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्