जनता खाना नपाएर आत्महत्या गर्ने, कर्मचारीहरू तलब सुविधा बढाउनुपर्छ भन्दै आन्दोलन गर्ने !



रुषा थापा, भक्तपुर । बुढोपाकाले भन्थे, ‘पाहुना आइदिए पुग्छ, बच्चा रोइदिए हुन्छ ।’ घरमा केही छ कि छैन तर पाहुना आएपछि जसरी जहाँबाट जुटाएर पनि खुवाउनपर्छ । बच्चा पनि रोएपछि आमाबुवाले उसले मागेको चिज किनिदिनै पर्छ । त्यसरी नै अहिले सरकारी कर्मचारीहरू आन्दोलित छन् । राज्यको ढुकुटीमा स्रोत छ कि छैन केही थाहा छैन तर तलब सुविधा बढाउनुपर्ने माग गर्दै संसद् सचिवालयका कर्मचारीहरू केही दिनदेखि आन्दोलनमा छन् ।

जनता कर तिर्न नसक्ने अवस्थामा पुगिसके । खाना नखाएर मानिसहरू आत्महत्या गरिरहेका छन् । व्यापार व्यवसायमा डुबेर आत्महत्या गरिरहेका छन् । यहाँ रोजगारी नभएर बिदेसिँदा कतिपयको घरपरिवार नै लथालिङ्ग बनेको छ । आर्थिक अभावकै कारण श्रीमान्–श्रीमतीबिच सम्बन्ध विच्छेद भइरहेको छ । अहिले आत्महत्या गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

यता, बजार पूरै मन्दीमा छ । राजस्व उठ्ने मालपोत, यातायात कार्यालय रित्तो भएको छ । घरजग्गा, गाडी र सेयरको कारोबारमा भारी गिरावट आइरहेको छ । काठमाडौँ उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली हुने क्रम बढ्दो छ । विदेशी ऋण मात्र २७ खर्ब पुगिसक्यो । प्रत्येक नेपाली जनताको टाउकोमा लाखौँ रुपैयाँ विदेशी ऋण छ ।

 अहिले नेपाल नै रहन्छ कि रहँदैन? भन्ने अन्योल सिर्जना भएको छ । कुन देशले नेपालमाथि कब्जा गर्छ भनेर आम जनसमुदायमै बहस सुरु भएको छ । विदेशीहरूको नेपालमा चहलपहल बढ्दै गएको छ । सहकारी, लघुवित्त, फाइनान्स र बैङ्कले करोडौँ बचतकर्ताको पैसा खाइदिएका छन् । यिनीहरूकै कारण धेरै बचतकर्ताले आत्महत्या पनि गरिसकेका छन् ।

बाटोमा माग्नेहरू यत्तिकै भेटिन्छन् । निजी सङ्घसंस्था, होटेल, रेस्टुरेन्ट, पसल, घरलगायतमा काम गर्नेहरूले वर्षौँदेखि तलब पाएका छैनन् । मासिक तीन हजारदेखि दश हजार पारिश्रमिकमा काम गर्दा पनि उनीहरूले तलब पाएका छैनन् । खाना नपाएर, ऋण तिर्न नसकेर वा पैसा डुबेपछि कोही झुन्डिएका छन् त कसैले विष सेवन गरेका छन् ।

देशमा यस्तो भइरहँदा संसद् सचिवालयका कर्मचारीहरू भने तलब सुविधा बढाउन माग गर्दे आन्दोलन गरिरहेका छन् । यिनीहरूलाई न देशको माया छ न जनताको । देश र जनता यो अवस्थामा पुगिरहँदा तलब सुविधा बढाउनुपर्छ भन्दै आन्दोलन गर्नु कतिको उचित हो ? हामी कर तिर्ने जनता अहिले पनि भोक भोकै सुत्छौ। बिरामी हुँदा उपचार गर्न सक्दैनौँ ।

जनताका छोराछोरी शिक्षाबाट वञ्चित भएका छन् । जनताको अवस्था अहिले पनि दयनीय छ । उनीहरू कि त मर्न बाध्य छन् कि दुई छाक खानाको लागि पनि तड्पिन । सरकारले जनताले तिरेको करबाट कर्मचारीहरूलाई तलब सुविधा उपलब्ध गराउँछ । यहाँ एउटै कर्मचारीको तलब लाखौँ छ । झन् सेवा सुविधा त्योभन्दा दोब्बर ।

सरकारी कर्मचारीलाई जनताले नै तिरेको करबाट तलब भत्ता, सेवा सुविधा, पोसाक, गाडी अनि पेन्सन दिइन्छ । तर, कर्मचारीहरू जनताप्रति नै जिम्मेवार छैनन् । हामी सर्वसाधारण काम बहस कुनै सरकारी कार्यालयमा गएमा सुरुमा त कर्मचारी नै भेटिदैँन । भेटिए पनि आज होइन भोलि आउनुस् भन्दै वर्षैँ कटाइदिन्छन् । जनताले नै तिरेको करबाट तलब भत्ता खाएर कर्मचारीहरू जनताको नै काम गर्दैनन् ।

अनि यस्ता कर्मचारीलाई कसरी हामी जनताले राष्ट्रसेवक बन्नु ? जनताले रगतपसिना बगाएर तिरेको करबाट तिरेको सरकारी गाडीको दुरुपयोग बढ्दो छ । कर्मचारीहरू बालबच्चा विद्यालय पुर्याउनदेखि तरकारी किन्न, घुमफिर गर्न समेत सरकारी गाडीकै प्रयोग गर्छन् । यता, सरकारी गाडी दिए पनि कहिल्यै समयमा कार्यालय आइपुग्दैनन् ।

समयमा कार्यालय नआएपछि कार्यालय समय सकिनु तीन–चार घण्टा अगावै चाहिँ घर टाप कस्छन् । अहिले सरकारी सेवामा लाखौँ कर्मचारी कार्यरत छन् । करार, ज्यालादारीका कर्मचारीहरू पनि उत्तिकै छन् । सरकारी कर्मचारीलाई मात्र तलब भत्ता र सेवा सुविधा उपलब्ध गराउँदा मासिक राज्य कोषबाट खर्बौँ रकम सकिने गरेको छ । यता, सामाजिक सुरक्षा भत्ता लिने झन्डै ४० लाख छन् ।

जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरू पनि ३६ हजार छन् । यिनीहरूलाई पनि तलब खुवाउनैपर्यो । तलबले मात्र पुग्दैन, भत्ता र सेवा सुविधा पनि त दिनुपर्‍यो । अहिले जनप्रतिनिधिको मात्र तलब भत्ता र सेवा सुविधामा जनताले तिरेको खर्बौँ रकम सकिने गरेको छ । जनताले तिरेको करले नपुगेर विदेशीसँग ऋण लिने गरिएको छ । सरकारी स्वामित्वको महालेखा परीक्षकको कार्यालयअनुसार सरकारको आम्दानीभन्दा खर्च धेरै छ ।

सरकारले विदेशी ऋणको मात्र वार्षिक पाँच खर्ब साँबाब्याज तिर्नुपर्छ । अब सरकारले सरकारी कसरी धान्छ रु अहिले सरकारी खर्च बढेको बढ्यै छ तर कर उठ्न छोडेको छ । विदेशीले पनि कतिन्जेल ऋण देला । आफूलाई फाइदा उनुन्जेल त विदेशीले पनि ऋण र अनुदान दिने हो । तर, नेपालमा पनि श्रीफलकाको जस्तै अवस्था निम्तिएमा त्यतिबेलाा विदेशीले सहयोग नगरी उल्टै यहाँ कब्जा जमाउनेछन् ।

केही दिनअघि अछाम र दोलखा जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा एक दर्जन बढी खच्चड फसे । उद्धारको क्रममा दुई वटा खच्चडको मृत्यु भयो । बाँकी खच्चडको पनि धेरै घण्टापछि मात्र उद्धार गरिएको थियो । खच्चडको उद्धार गरियो तर पुल अहिले पनि बनेको छैन । यसले त्यहाँ बस्ने हजारौँ मानिस प्रभावित भएका छन् । यो त एउटा उदाहरण मात्रै छन् ।

दुर्गम वा ग्रामीण भेगमा अहिले पनि पक्की पुल छैन । आम सर्वसाधारणसहित पशुहरू पनि जोखिम मोलेर झोलुङ्गे पुल, तुइनलगायतबाट खोला तर्न बाध्य छन् । फेरि त्यस्ता ठाउँमा पुल बनाउन सरकार बजेट पनि दिदैंनन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । बजेट सबै एमाले अध्यक्ष केपीशर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको क्षेत्रमा मात्र हालिएको स्पष्ट देखिन्छ ।

सदनमा केही सांसदहरूले बजेटमार्फत कर्मचारीको तलब नबढेको भन्दै विरोध जनाए । कर्मचारीको तलब बढेको भए जनप्रतिनिधिहरूको पनि तलब बढ्थ्यो । अनि कर्मचारीको नाम लिएर आफ्नो पनि बढाउन खोज्ने । यहाँ जनप्रतिनिधिहरूलाई समेत जनता र देशको केही मतलब छैन । सबैलाई आफूलाई पोस्न पाए पुग्यो । ओलीले प्रधानमन्त्री हुँदा आफ्नो क्षेत्रमा झन्डै तीन अर्ब खर्चिएर भ्यु टावर बनाए ।

 तर, दुर्गम वा ग्रामीण क्षेत्रमा एउटा झोलुङ्गे पुल हाल्न उनले बजेट दिएनन् । ओली अझै पनि जनतालाई मुर्गा बनाइरहेका छन् । ओली कस्तो व्यक्ति हुन् भनेर सोझासाझी सर्वसाधारणले अहिले पनि बुझेका छैनन् । हिजो प्रधानमन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा भ्यु टावर बनाउनुको साटो दुर्गम क्षेत्रमा पक्की पुल बनाइदिएको भए आज ओलीलाई हेर्ने जनताको दृष्टिकोण निकै राम्रो हुन्थ्यो ।

तर, उनले जनताले तिरेको कर आफ्नो क्षेत्रमा मात्र खनाए । अनि यस्ता फटहाहरु अझै पनि म देशको लागि केही गर्छु भनेर जनतालाई भ्रम छरिरहेका छन् । अहिले नै राज्यको ढुकुटी रित्तिँदै गएको छ । अब झन् रित्तिने छ । किनकि जनताको अवस्था नाजुक बन्दै गएको छ । बजारमा पहिलाजस्तो चहलपहल केही छैन । नयाँ लगानीकर्ता थपिएका छैनन् त पुराना समेत पलायन भइरहेका छन् ।

अनि कसरी सरकारले राजस्व उठाउँछ र रु फेरि यस्तो अवस्थामा समेत कर्मचारीहरू तलब सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिन्छन् भने उनीहरू राष्ट्रसेवक होइन, देश र जनताका लागि घातक हुन् । सरकार जनतालाई विदेशमा बेचिरहेको छ । त्यहाँबाट आएको रेमिट्यान्सले भने जनप्रतिनिधि र कर्मचारीहरू मोजमस्ती गरिरहेकै छन् । तर, यतिले पनि यिनीहरूलाई पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्