आइतबार सांसदबाट राजीनामा दिने प्रधानमन्त्री प्रचण्डको तयारी



प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राजीनामा दिने तयारी गरेका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार संसद् बैठकबाट राजीनामा दिन लागेको ब्रिफिङ गरेका हुन् ।

‘दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैन । आइतबार संसद् बैठकबाट राजीनामा दिन्छु । माओवादी अव प्रतिपक्षमा बस्न तयार छ, ’ उनले आज बसेको मन्त्रिपरिषद्को बैठकमा भनेका हुन् । दाहालले बैठकमा राजीनामा दिन लागेको भने पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनामा नदिएर छिट्टै विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिएकी छन् । उनले विश्वासको मत लिन ३० दिन नकट्ने बताउँदै छिट्टै विश्वासको मत लिने तयारी भएको बताइन् ।

उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसद्मा गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।’

मन्त्री शर्माले राजीनामा नदिई प्रधानमन्त्री प्रचण्डले छिट्टै सांसदबाट विश्वासको मत लिने बताए पनि आइतबार सांसदबाट प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने तयारी गरेका छन् ।

सांसदबाट विश्वासको मत नपाउने निश्चित हुँदा समेत प्रचण्डले पदमा बसिरहनु उचित नभएको भन्दै चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले पदबाट राजीनामा दिए पछि सभामुख देवराज घिमिरेले त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउने छन् । उक्त जानकारीपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

नयाँ सरकार गठनको आह्वान गरिएपछि काँग्रेस र नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्दै बहुमतको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्