बारम्बारको सरकार परिवर्तनबाट जनतामा छाएको निराशा



काठमाडौँ ।  नेपालको राजनीति अवस्था कतिबेला के हुन्छ भन्ने विषयमा स्वयम नेताहरू नै अनविज्ञ रहेका छन् भन्ने कुरा पछिल्ला विभिन्न किसिमका राजनीतिक घटना क्रमहरूले प्रस्ट पारेको देखिन्छ। जसरी चुनावको बेलामा नेताहरूले चुनावी घोषणापत्रमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्छन् त्यसरी नै कार्यान्वयनमा पनि लागि परेर अघि बढेमा जनतामा पनि केही आशा पलाउने थियो ।

तर, जितेर गएपछि सत्ताको लोभमा सबै कुरा भुलेर अधिकांश नेताहरू पदमा नै लिप्त भएका हुन्छन् । देश विकास र जनताको जीवनस्तरमा सुधार गर्छु भन्दै हिँड्ने नेताहरू न आफ्नो पार्टी बनाउँछन् न देश नै ,बनाउँछन् त केवल परिवार र आफू । २ वर्ष नपुग्दै ४ पटक नयाँ सरकार गठन भई सत्ता परिवर्तन हुँदा आम नेपाली जनताहरूमा निराशा छाएको छ । देशको खस्कँदो अर्थतन्त्र र बिग्रँदो आर्थिक अवस्थाले गर्दा यति बेला देशमा केही गरौँ भन्ने सोच भएका व्यक्तिहरूलाई पनि निराशामा पुर्‍याएको छ । देशमा नयाँ शक्ति आएर पुराना शक्तिलाई पाखा लगाउँछन् कि भन्ने सोच र विकासको आशामा जनता पर्खिबसिरहेका छन् ।

तर,  आएका नयाँ भन्नेहरूले पनि न त नयाँपन दिन सके न त विकाश नै ,पुराना र आफूलाई नयाँ भन्नेहरू पनि आ-आफ्नै स्वार्थमा लिप्त रहेका देखिनछन्। नेताहरू देश विकाश र परिवर्तनको मुद्दामा केन्द्रित हुनुपर्ने तर सरकार र राजनीतिक मुद्दामा मात्रै केन्द्रित हुँदा विकास निर्माणको कामले द्रुत गति लिन सकिरहेको छैन । राजतन्त्रको अन्त्य भई देशमा गणतन्त्र आएको पनि झन्डै २ दशक पुग्न लाग्यो तर पनि नेपाली जनताहरूको जीवनस्तर उस्तै नै रहेको छ मात्र नेताहरूको जीवनशैली परिवर्तन भएको देखिन्छ।

देशका नेताहरूको गैर जिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टि छाएको छ । चुनाव जित्नकै लागि जनताहरूलाई विभिन्न किसिमका आश्वासन दिने तर चुनाव पछि पार्टी र कार्यकर्ता भन्दा अरूको लागि केही नगर्ने नेताहरूको बिगबिगीले गर्दा पनि जनतामा निराशा छाएको छ । देशको भौगोलिक अवस्था र विकासको आवश्यकता अनुसार बजेट बाँडफाँड हुनुपर्ने तर हाम्रो देशमा नेताहरूको पँहुचताको आधारमा हुने गर्दछ त्यसैले पनि कर्णाली प्रदेशका  जनताहरूले सधैँभरि विभिन्न किसिमका सास्तीहरू भोग्नुपर्ने अवस्था रहेको छ र दुर्गम बस्तीहरूको अवस्था सधैँ उस्तै नै रहेको पाइन्छ। पछिल्लो समय देशमा बढ्दो बेरोजगारीको समस्याले गर्दा पनि दिनहुँ हजारौँ युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था रहेको छ

। देशमा प्राकृतिक स्रोत र साधनहरू अत्यधिक मात्रामा हुँदाहुँदै पनि प्रयोगमा ल्याउन नसक्दा आज देश यो अवस्थामा पुगेको छ साथै देशमा प्राकृतिक स्रोत र साधनलाई प्रयोगमा ल्याउनको लागि नयाँ नयाँ प्रविधि र विकाशको प्रयोग गरी औद्योगिक क्षेत्रको  विकाशलाई  विशेष ध्यान पुर्‍याउनु पर्ने हो तर नेताहरूमा त्यस्तो किसिमको दिगो विकासको सोच र भिजन केही देखिँदैन मात्रै सत्ता परिवर्तन,भ्रष्टाचार र विभिन्न किसिमका मुद्दा लागेका नेताहरूको बचाउको लागि सक्रिय रूपमा लागेको देखिन्छ । दुई वर्षको बिचमा पाँचौँ पटक सरकार निर्माणको तयारी हुँदै गर्दा धेरैको बुझाइ एमाले र काँग्रेसका अधिकांश माथिल्लो तहका नेताहरू भ्रष्टाचारमा मुछिएका छन् ।

प्रचण्ड सरकारले गिरिबन्धु र आरजु जोडिएको भनिएको टिकापुर जग्गा काण्डलगायतको दर्जनौँको फाइल खोल्ने तयारी गरेपछि त्यसबाट बच्न एमाले र काँग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाउन तयार भएका हुन कि भन्ने आशङ्का जनतामा रहेको छ। पटक-पटकको सरकार र मन्त्रीहरूको परिवर्तनले केही योजनाबद्ध र नीतिगत रूपमा अघि बढ्न थालेका कामहरू पनि अपुरो र अस्तव्यस्त हुन पुग्दछन्  जसले समग्र देश विकाश र जनतालाई नै हानी पुर्‍याउँदछ ।

यति बेला एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ भने रास्वपा अझै अन्योलमा परेको छ। नयाँ सरकार गठनसँगै काँग्रेसको बुई चढेर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् भने उनले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गरे पनि वर्तमान प्रधानमन्त्री एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ नदिने पक्कापक्की जस्तै छ र रास्वपा पनि सरकार बाहिर नै बस्न सक्ने सम्भावना देखिन्छ भने अन्य पार्टीहरू यति बेला मौन रहेका छन्।

प्रतिनिधि सभा २०७९ मा प्रत्यक्ष र समानुपातिक गरी नेपाली काँग्रेस ८९ सिटसहित पहिलो दल बनेको  थियो भने ७८ सिट ल्याएर नेकपा एमाले दोस्रो दल बनेको थियो। यति बेला यी दुई ठुला दलका नेताहरू एक आपसमा मन्त्री पदको भागबन्डामा सहमति कायम गरी सरकार चलाउने निर्णय गरेका छन्। देशमा बारम्बार सरकार परिवर्तन भइरहने पछिल्लो होडबाजीको दौडमा यो सरकार पनि कहिले सम्म टिक्ने हो त्यो नेताहरूको व्यवहार र निर्णयले देखाउनेछ। देशमा जुनसुकै दलका सरकार बने पनि विशेषसरि देशको वास्तविक समस्याहरूलाई राम्रोसँग औँल्याएर समाधानका उपायहरू खोजी दीर्घकालीन विकाशमा ध्यान दिन जरुरी छ । होइन भने, बारम्बारको सरकार परिवर्तनले जनतामा निराशा ल्याउने काम मात्र गर्दछ।  मोहन कुँवर, सत्यवती-२, चेहेमी गुल्मी (हाल जापान ओसाका)

प्रतिक्रिया दिनुहोस्