दार्चुला : नेपाल-भारत उत्तरी सीमाको महाकाली नदी माथि बिना अनुमति भारतीय पक्षले बनाएको अस्थायी काठेपुल हेडक्वार्टर ५० नम्बर गुल्म, दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भत्काएको छ ।
भारतले नेपालको अनुमति बिनै पेल्सीती, घाटी बगड र दोपाखेमा काठे पुल बनाएको थियो भत्काएको हो । दुई वटा काठे पुल निर्माणको लागि भारतलाई नेपाल सरकारको तर्फबाट अनुमति दिएको भए पनि अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतीय पक्षले पाँच वटा अस्थायी काठेपुल निर्माण गरेको थियो ।
सञ्चार माध्यममा भारतीयले एकतर्फी सहमति भन्दा बढी पुल लगाएको भन्दै समाचार प्रसारण, प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सीमा क्षेत्रमा लगाइएका पुलहरूको अनुगमनका लागि सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए ।
सशस्त्र प्रहरीले उक्त क्षेत्रमा बनाइएका तीन वटै काठे पुल भत्काएको विषयमा जिल्ला सुरक्षा समितिमा छलफल भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । नेपाली नागरिकको बसोबास नरहेको मौका छोपी भारतीय पक्षले पटक पटक काठे पुल बनाएर नदी वारपार गर्ने र अवैध चोरी पैठारी हुने गरेको स्थानीयले बताएका छन् ।