राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित



काठमाडौँ ।  राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा सत्तापक्षमा रहेका सांसदहरूले हुन्छ भन्ने पक्षमा मत प्रकट गरे भने विपक्षमा रहेका कांग्रेस सहितका सांसदहरू मौन रहे । त्यसपछि सभाध्यक्ष दाहालले तीन वटै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्