प्रदेश मन्त्रालयहरू डुबानमा



काठमाडौँ । अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् । लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय डुबानमा परेका छन् ।

दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको हो । राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आइरहेको छ ।

दाङमा शुक्रवार रातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् । राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ । सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्