मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त



वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।  मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी, एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् ।

माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेली मुख्यमन्त्री सिंहले हटाएका हुन् । यसैगरी मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल सङ्घीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको छ । काँग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदै छ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्