अकासियो तरकारीको मूल्य



काठमाडौँ । काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अकासिएको छ । बाढी–पहिरोले देशका विभिन्न सडक अवरुद्ध हुँदा सामान ढुवानी प्रणाली प्रभावित भएको छ । यसकै परिणाम स्वरूप तरकारीको मूल्यमा वृद्धि भएको हो ।

असार पहिलो साताको तुलनामा आईतबार सम्ममा तरकारीको मूल्यमा उच्च वृद्धि भएको हो । यसमध्ये पनि गत साताको बुधबार–बिहीबारको तुलनामा तरकारीको मूल्यमा धेरै नै वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यतिबेला सबैजसो तरकारीको मूल्य महँगिएको छ ।

कालीमाटी बजारको वेबसाइटमा प्रकाशित मूल्यसूचीका अनुसार ठुलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँ छ । असार पहिलो साता गोलभेँडाको मूल्य प्रतिकिलो ५६ रुपैयाँ थियो ।
भारतीय ठुलो गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ११५ रुपैयाँ, सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ । असार पहिलो साता लोकल गोलभेँडाको मूल्य प्रतिकिलो १२ रुपैयाँ थियो । यो प्रतिकिलो ४३ रुपैयाँसम्मको वृद्धि हो । यसबाहेक रातो आलु, सेतो आलु, सुकेको प्याज, गाजर, बन्दा, काउली, रातो–सेतो मुला, लाम्चो भन्टा लगायत सबैजसो तरकारीको मूल्य आकाशिएको छ ।
आइतबार रातो आलुको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, मुडे आलु ५३ रुपैयाँ, सुकेको प्याज ८७ रुपैयाँ, गाजर ८५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ र काउली ९५ रुपैयाँ छ । यस्तै सेतो मुला ५५ रुपैयाँ र रातो मुला ७५ रुपैयाँ तथा लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलोमा थोक बजारमा बिक्री भइरहेको छ ।यसअघि असार पहिलो सातासम्ममा रातो आलुको थोक मूल्य ५४ रुपैयाँ थियो । यस्तै मुडे आलु ५१, सुकेको प्याज ८३ रुपैयाँ, गाजर ६५, बन्दा २३, काउली ३५, सेतो मुला प्रतिकिलो ४६ रुपैयाँमा थोक बजारमा बिक्री भइरहेको थियो । असार लागे यता निरन्तर बढ्न थालेको तरकारीको मूल्य शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोपछि ह्वात्तै बढेको हो ।

थोक बजारमै प्रतिकिलो १०० रुपैयाँ हाराहारीसम्म पुगेको तरकारीको मूल्य खुद्रा बजारसम्म पुग्दा कम्तीमा २० प्रतिशत बढ्छ । खुद्रा बजारमा उपभोक्ताको हातसम्म पुग्दा दुई–तीन तह हुँदै पुग्छ । यसबाट उपत्यकामा तरकारीको मूल्य छोइ नसक्नु गरी बढेको देखिन्छ ।

यसबाहेक सबै किसिमका सागको थोक मूल्य तथा हरियो प्याज, सबै प्रकारका च्याउ, कुरिलो, न्यूरो, ब्रोकाउली लगायत सबैजसो हरियो तरकारीको मूल्य बढेको कालीमाटी विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्