भरतपुरको क्रिकेट रङ्गशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता



काठमाडौँ । ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।

भरतपुर महानगरपालिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा रङ्गशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।

निर्माण कम्पनीले सम्झौता अनुसार रङ्गशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३र३ तलाको टावर बनाउनुपर्ने छ ।

सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । तिकाम सक्ननिर्माणको लागत भ्याट र पीएससहित७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।

रङ्गशाला निर्माणका लागि आगामी आर्थिक वर्ष सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । रङ्गशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।

सङ्घीय मन्त्रिपरिषद्को गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि रङ्गशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

धुर्मस–सुन्तली फाण्डेशनले चन्दा संकलन गरी बनाउन सुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्