कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो



काठमाडौँ । वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिवार देखीको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरूलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको उनले बताए ।

आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरूको सङ्ख्या समेत बढेको थियो । कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भँगालोमा फसेका २९ जनाको सकुशल उद्धार समेत गरिएको छ । अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको छ ।  बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरूको उद्धारका लागि प्रदेशभर दुई हजार भन्दा बढी प्रहरी परिचालन गरिएको गरिएको छ ।

सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूको उद्धारलाई तीव्रता दिने, उनीहरूको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्धार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्