विराटनगरमा एक युवकको हत्या, २ जना घाइते



काठमाडौँ । विराटनगरमा एक जना युवकको हत्या गरिएको छ ।  दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका९२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका९१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । प्रहरीले भने घाइतेलाई अस्पताल पुर्‍याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ ।

मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।  घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र  ढाडमा घोपिएको चोट छ । उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।  प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्