बाढीबाट जोगाउन खोला छेउमा घर बनाउन रोक लगाउनुपर्छ : आरजु देउवा



काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणाले खोलाको छेउछाउमा घर बनाउन रोक लगाउनुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले खोला किनार तथा बढीग्रस्त क्षेत्र वरपर घर बनाउन रोक लगाउने गरी नीति बनाउनुपर्ने बताएकी हुन् । राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र वरपर वन्यजन्तुको संरक्षणका लागि मध्यवर्ती क्षेत्र भनेर छुट्याइएजस्तै मान्छेको संरक्षणका लागि पनि खोला तथा नदी किनारमा निश्चित मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ ।

‘कुन ठाउँमा बस्ती बसाउन सुरक्षित हो, कुन ठाउँ होइन भनेर भन्दिनुपर्छ’, उनले भनिन्, ‘मान्छे संरक्षणका लागि खोलाका वरपर घर बनाउनु हुँदैन, बाढीग्रस्त क्षेत्र कति तोक्ने भन्ने हामीले नीति बनाउनुपर्छ । नभए हरेक वर्ष यस्ता समस्या दोहोरिरहन्छ ।’

त्यस्तै सांसद देउवाले हिमतालहरुको अनुगमन र संरक्षणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने पनि बताइन् । सन् २०२५ लाई ताजकिस्तानले हिमनदी संरक्षण वर्ष (युएन इयर अफ दि ग्लेसियर) को रुपमा घोषणा गर्न माग गरेको भन्दै उनले यसलाई नेपालले पनि समर्थन गर्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्