बजेट कार्यान्वयनमा काठमाडौँले गर्‍यो पाँच वर्षयताकै सुधार



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ५० प्रतिशतभन्दा धेरै बजेट खर्च गरेको छ । काठमाडौँ महानगरले चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो ।

यस्तै महानगरले चालु खर्च ६४.४ प्रतिशत गरेको छ । चालु खर्चतर्फ ९ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा महानगरले ५ अर्ब ८३ करोड खर्च गरेको हो । महानगरले चालु आव पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ । १५ अर्ब १० करोड १० लाख छुट्टाएकोमा खर्च ६ अर्ब ३९ करोड ६१ लाख अर्थात् ४२.३५ प्रतिशत खर्च गरेको हो ।

महानगरका अनुसार गत आव २०७९/८० मा २२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको काठमाडौँले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो । यो ४०.४ प्रतिशत मात्रै हो ।

अघिल्लो आव २०७८/७९ मा काठमाडौँ महानगरले ४४.३ प्रतिशत मात्रै खर्च गरेको थियो । १६ अर्ब ५२ करोड बजेट ल्याएकोमा ७ अर्ब ३१ करोड मात्रै खर्च गर्न सकेको थियो ।

२०७७.७८ मा १५ अर्ब ५६ करोड १५ लाख बजेट विनियोजन गरेकोमा ५ अर्ब ७० करोड अर्थात् ३६.७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । त्यस्तै २०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट ल्याएकोमा ६ अर्ब ४५ करोड अर्थात् ४९.७ प्रतिशत खर्च भएको थियो ।

पुँजीगत खर्च

काठमाडौँ महानगरले पाँच वर्षअघि २०७६/७७ मा ७७ प्रतिशत चालु खर्च भएकोमा २०८०/८१ मा यो दर ६४ प्रतिशतमा झारेको छ । यस्तै २०७७/७८ मा २१ प्रतिशत, २०७८र७९ मा २९ र २०७९.८० मा २६ प्रतिशत रहेको पुँजीगत खर्चमा भने ठुलो अन्तरमा वृद्धि गरेको छ । यो पटक महानगरले १६ प्रतिशत खर्च वृद्धि गरेको छ । २०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट ल्याएको थियो । जबकि, १२ अर्ब ३५ करोड २७ लाख रुपैयाँ खर्च चालु आवमा गरेको हो ।

५ वर्षको बजेट र खर्च (करोडमा)

आव विनियोजन खर्च खर्च प्रतिशत
२०७६/७७ १२९८ ६४५ ४९.७
२०७७/७८ १५५६ ५७० ३६.७
२०७८/७९ १६५२ ७३१ ४४.३
२०७९/८० २२८३ ९१८ ४०.२
२०८०/८१ २४२० १२३५ ५१.०४
प्रतिक्रिया दिनुहोस्