काठमाडौं : अमेरिकाको एक नाइट क्लबको शौचालयमा देवीदेवताका चित्र राखिएको तस्विर सार्वजनिक भएपछि हिन्दु धर्मालम्बीहरूले आपत्ति जनाएका छन् । अमेरिकाको न्यूयोर्कस्थित हाउस अफ एस नामक नाइट क्लबमा हिन्दू देवीदेवताका तस्विर राखिएको समाचार बाहिर आएको हो ।
ती तस्विरहरू अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा फोटो र भिडियो सार्वजनिक गरेकी हुन् ।
मिश्रा सो नाइटक्लबमा गएकी थिइन् । त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने क्रममा ट्वाइलेट पेपर निकाल्न लाग्दा देवताको चित्र देखेको उनले जनाएकी छन् । त्यहाँ गणेश, सरस्वती, काली र शिवका तस्विरहरू राखिएका थिए।
रुबिन म्यूजियम अफ आर्टमा शिक्षिका रहेकी उनले लेखेकी छिन्, मेरो सांस्कृतिक पृष्ठभूमिका कारण ममाथि व्यङ्ग्य गरिरहेको थियो । यो घटनाको मैले बेवास्ता गर्न सकिनँ । उनले त्यो नाइट क्लबलाई इमेलमा अन्सन्तुष्टि पोखेपछि सो क्लबले क्षमा मागेको छ ।