जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह अरूभन्दा फरक काम गरेर देखाउन आतुर छन् ।
स्थानीय तह गठन भएको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पनि जनताले विकासको अनुभूति नगरेको र उपमहानगरपालिका कार्यालयको कामकाज प्रभावकारी नभएको आरोप खेपिरहेका मेयर साहले त्यहाँ कार्यरत स्विपरहरूलाई कपाल छोट्याउने उर्दी जारी गरेका छन् ।
मेयर साहको आदेशमा बुधबार बिहान उपमहानगरपालिका कार्यालयमा कार्यरत स्विपरहरूले लाम लागेर कपाल छोटो पारेका छन् । उनीहरूको कपाल काट्न उपमहानगरपालिका कार्यालयले विशेष हजामको व्यवस्था गरेको थियो ।
स्विपरको हजामत भइरहेका बेला उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाm वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवलगायत कर्मचारीहरू तैनाथ थिए ।
मेयर साहले स्विपरहरूको सजिलै पहिचान होस् भन्ने उद्देश्यले सबैको कपाल एकनासको बनाइएको बताए ।