सिराहा । बितेको दुर्इ महिनामा मात्र सिराहाका जिल्लाका विभिन्न स्थानहरुमा ग़री हत्याका पाँच ओटा हृदय घटना घटेको तथ्यांकले देखाउँछ । जमिन, सम्पत्ति र घरायसी विवादमा बढी हत्याका घटनाले स्थान लिएकाे पाइन्छ ।
सिराहाका हत्या घटनालाई हेर्दा दुई जनाले आफ्नो बुवा र एक महिलाले सौतेलो छोरोको हत्या गरेकाे देखिन्छ । दुर्इ महिनाको हत्या तथ्यांकलाई हेर्दा जग्गाको अंश मुद्दा लडिरहेकी एक महिलाको आफन्तबाट हत्या भएको छ भने पछिल्लो पटक भएको एक हत्या घटनाको भने कारण अझैं खुलेको छैन ।
कर्जन्हा नगरपालिका–३ की ३० वर्षीया कौशिल्यदेवी सदायले साउन २२ गते सौतेलो छोरो ९ वर्षिय अभिषेक सदायको घाँटी थिचेर हत्या गरेकी थिइन्। प्रहरीले कौशिल्यलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
गोलबजार नगरपालिका–१० की कारीदेवी यादवलाई गत साउन २५ गते घरबाटै बेपत्ता गरी उनको हत्या भएको थियो। उनको हत्या जेठाजु रामदेव यादव र भतिज लक्ष्मण यादवले गरेको आरोप स्थानियले लगाएका थिए। रामदेव र लक्ष्मणलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
कारीदेवीको शव पनि स्थानीयले नै १६ दिनपछि फेला पारेका थिए। प्रहरी भने हत्यारा को हो भनेर निष्कर्षमा अझैं पुग्न सकैकाे छैन । स्थानियले बुझाएकै दुवै जनामाथि प्रहरीले ज्यान मुद्दा भने चलाएको छ। रामदेव र लक्ष्मणको बयानका आधारमा थप अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानियका अनुसार रामदेव र कारीदेवीबीच अंश मुद्दा चल्दै थियो। कारीदेवीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नलिएको भन्दै स्थानीय आन्दोलित समेत भएका थिए।
भदौ ८ गते लहान नगरपालिका–१५ मोहनपुरमा रक्सी खाएका बाबु र छोराबीच भनाभन भयो। सञ्जय सदायले बुवा दिलीपलाई बाँसको भाटाले हिर्काए। घाइते दिलीपको उपचारका क्रममा ज्यान गयो। प्रहरीले अभियुक्त सञ्जयलाई पक्राउ गरेको छ।
छोरा बुहारीले सामान्य विवादमै साउन २० गते लहान नगरपालिका–४ का अताबुल अन्सारीको पनि हत्या गरेको इलाका प्रहरी लहानले जनाएको छ। प्रहरीका अनुसार अन्सारीका छोरा कलाम अन्सारी र बुहारी रिजो खातुन फरार छन्। यसैगरी भदौ ३१ गते गोलबजार नगरपालिका–३ का हेमबहादुर ब्लोन तामाङको पनि घरमा सुतिरहेकै अवस्थामा हत्या भएको थियो।
घटनाको डेढ साता बित्दा पनि प्रहरीले उनको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेपछि स्थानीय आन्दोलित भएका छन्। उनीहरूले स्थानीय प्रहरी कार्यालय घेराउदेखि प्रहरी प्रमुख र स्थानीय सरकारका प्रमुखलाई विज्ञप्ति बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार हत्या घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको छ। परिणाम नआएसम्म प्रहरीले के गरिरहेको छ भन्न नमिल्ने उनको भनाइ छ। शंका लागेका व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाएर सोधपुछ गरिरहेको उनले जानकारी दिए।
तराई मधेशमा पछिल्लो समय हत्या र ब्लात्कात्कारका घटनामा वृद्धि भएपछि यस क्षेत्रका व्यक्तिहरु चिंता व्यक्त गर्न थालेका छन ।
प्रदेश सरकार र संघीय सरकारले आम जनताको जिउ धनको रक्षा गर्न न सकेको भनी बिभिन्न फोरमहरुमा आवाज समेत उठन थालेको बेला अब सरकार पक्ष र तिनका मातहतका निकायले यसबारे गम्भिरताका साथ चासो लिनुपर्ने बेला आएको छ ।