चितवन: चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आश थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको भन्ने अस्पतालको रिपोर्ट आएपछि उनी छाँगाबाट खसेजस्तै भएका थिए । २०७१ साल पुसको कुरा हो । “यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन”, गिरीले त्यो क्षण सम्झँदै भने, “आज पुरानो पेशामा पुनः फर्किन पाए, मैले नयाँ जीवन पाए ।”
चौबीस वर्षअघि पर्यटन क्षेत्रको पथप्रदर्शकको तालीम लिएपछि गिरी जङ्गलमा चरा देखाएर पर्यटक डुलाउने पेशामा लागे । पेशा चल्दै गर्दा २०७१ पुसमा दुवै मिर्गौलाले काम गर्न छाड्यो । तर उनले हरेस खाएनन् । घरपरिवारले केही हुन्न भनेर सम्झाइरहन्थे । उनको मिर्गौला फेरियो तर पर्यटकलाई चरा देखाउने पेशा भने फेरिएन ।
गिरी अहिले पनि पहिले जस्तै चराको खोज अनुसन्धान, अनुगमनदेखि पर्यटकलाई चरा घुमाउन जङ्गल जङ्गल धाउँछन् । “बिरामी हुनुअघि र पछिको काममा कुनै फरक छैन,” उनले भने, “मासिक रु १८ हजारदेखि रु २० हजारको औषधि लिएर काममा खटिनुपर्छ ।” यसपटक उनलाई तिहारमा समेत फुर्सद भएन । गोबर्द्धन पूजाको दिन उनी आइविसविल चरा देखाउन दुई अष्ट्रेलियन नागरिक क्लाइड र पिटरलाई लिएर मकवानपुरको राप्ती खोला पुगे ।
भाइटीकाको दिन दुई हजार ८०० मिटर उचाइमा रहेको पोखराको ठूलोखर्क (अष्ट्रेलियन क्याम्प)मा पुगेर पर्यटकलाई चरा देखाए । अहिलेको समयमा चरा बसाइँ सरेर सोही बाटो हुँदै नेपाल आउँछन् । चरा हेर्न त्यहाँ ठूलै भीड लाग्छ ।
औषधि खान गिरीले एक कट्ठा जग्गा बेचेर पैसा बैंकमा राखेका छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि गिरीलाई पर्यटन क्षेत्रमा लागेका स्वदेशी तथा विदेशीले समेत सहयोग गरेका थिए । झण्डै रु १५ लाख खर्च गरेर उनले आफ्नै भाइ टीका गिरीको मिर्गौला प्रत्यारोपण गरेका थिए । उनले अहिले हिमाली क्षेत्र जाने योजना बनाएका छन् । मिर्गौला प्रत्यारोपण गरेको एक वर्षपछि उनले आफ्नो कामलाई निरन्तरता दिएका हुन् । अहिले प्रायः उनले जङ्गलमै चरा हेरेर समय बिताउने गरेका छन् ।