काठमाडौँ: भोलिदेखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलनको आयोजना गर्न लागेको बताएको छ ।
एशिया स्वच्छ व्यवसायी सङ्गठनका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनले व्यापार प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धन गर्ने बताए । कार्यक्रममा क्रेता, बिक्रेता, विज्ञ र नीति निर्मातासमेत झण्डै १५० को सहभागिता रहनेछ ।
‘दिगो विकास लक्ष्य २०३० मा स्वच्छ व्यवसायको भूमिका’ प्रमुख मुद्दा रहने सम्मेलनले स्वच्छ व्यवसायको मूल्याङ्कन पद्धति, बजार विस्तार र स्वच्छ व्यवसाय प्रवद्र्धनका विषयमा छलफल हुने अध्यक्ष केसीले बताए । सम्मेलनमा ५० स्टल रहने छ । सङ्गठनले दुई÷दुई वर्षमा एशियाका विभिन्न शहरमा सम्मेलन आयोजना गर्दै आएको छ । नेपालमा नौ वर्षपछि यो सम्मेलनको आयोजना भएको हो ।