इकार्डी र डिबालाको गोलमा अर्जेन्टिना विजय



एजेन्सी: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गरेको हो ।

 

अर्जेन्टिनालाई जित दिलाउन माउरो इकार्डी र पाउलो डिबालाले समान एक एक गोल गरे । कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनाले दुवै हाफमा एक एक गोल गरेको थियो । अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमै इकार्डीको गोलबाट अग्रता लिएको थियो । 

इरिक लमेराको पासमा इकार्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८७ औं मिनेटमा डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । त्यस पछि दुबै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिनाले मेक्सिकोमथि २-० को सहज जित निकालेको हो । 

अर्जेन्टिनाका लागि डिबालाको यो पहिलो गोल समेत हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नै चिलीले होन्डुरसलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । चिलीका लागि अर्टुरो भिदालले दुई गोल गर्दा एलेक्सिस सान्चेज र निकोलसले एक एक गोल गरे । होन्डुरसका एलेक्स्जेन्डर लोपेजले एक गोल फर्काए । 

प्रतिक्रिया दिनुहोस्