निर्मला हत्या प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौं : बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको छ।  

 

समितिका संयोजक हरिप्रसाद मैनालीले मंगलबार गृहमन्त्रालय पुगेर गृहमन्त्री बादललाई प्रतिवेदन बुझाएका हुन्। उक्त कार्यक्रममा गृहसचिव, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, छानबिन समिति सदस्यहरूको उपस्थिति रहेको छ। 

 

 प्रतिवेदनमा के रहेको छ भन्ने सार्वजनिक गरिएको छैन।  साउन १० गते हत्या गरिएकी निर्मलाको घटनाबारे छानबिन गर्न भदौ ७ मा सरकारले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको नेतृत्वमा कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनाली रहेका थिए।

 

 उक्त समितिमा पाँच जना सदस्य रहेका थिए। निर्मला बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरू छुटिसकेका छन्। दुई महिनाभन्दा बढी समय भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन। 

 

बलात्कार र हत्यामा ठूलै व्यक्तिको संलग्नता रहेको र आफूमाथि सुरक्षा चुनौती रहेको भन्दै समितिका एक सदस्य उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका थिए। उनले राजीनामा दिएको दुईदिनपछि उक्त राजीनामा फिर्ता लिएर समितिमा नै फर्किएका थिए।

 

प्रतिक्रिया दिनुहोस्