उदासीन सरकारलार्इ झक्झक्याउन दबाब जारी राखाैं : थापा



भीमदत्तनगर:  नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।

 

बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको बताए।

 

फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको दाबी गरे।  कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए। 

 

'तपाईहरू आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्,' उनले भने, 'तपाईहरूको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म पुर्‍याउँछु ।'  उनले निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षी दल कांग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए।  

प्रतिक्रिया दिनुहोस्