भारतीय दूतावास र भारतीय उद्योग महासंघले निर्माण उपकरण प्रदर्शन गर्ने



काठमाडौँ : काठमाडौँस्थित भारतीय दूतावासले भारतीय उद्योग महासंघसँगको सहकार्यमा भोलिदेखि भक्तपुरमा तीनदिनसम्म निर्माण उपकरण तथा प्रविधि प्रदर्शन गर्ने भएको छ । सल्लाघारीस्थित खुला मैदानमा हुने प्रदर्शनीलाई कोनम्याक २०१८ नाम दिइएको छ ।

प्रदर्शनीमा जेसिबी, एल एण्ड टी, हुण्डाई जस्ता ठूला कम्पनी सहित भारतका १ सय ५० भन्दा बढी कम्पनीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गर्नेछन् । दुई लाख वर्ग फिट भन्दा बढी क्षेत्रमा हुने प्रदर्शनी नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने आयोजकको बिश्वास छ ।

प्रदर्शनीको ४ हजार भन्दा बढी व्यापारीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ उद्घाटन गर्नेछन् । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरी समेत उपस्थित हुने कार्यक्रममा नेपाल र भारतका निर्माण व्यवसाय क्षेत्रका अगुवा, व्यापारिक संघसंस्था तथा सरकारका उच्च अधिकारीको उपस्थिति रहने आयोजकले जनाएको छ ।  प्रर्दशनीले दुई देशबीचको औद्योगिक सहकार्यलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्