रेणुको राजीनामा फिर्ता, उपेन्द्रको कान कच्चा हुँदा रेणु संकटमा



काठमाडौं : उपाध्यक्ष रेणु यादवलाई पार्टीको प्रदेश २ संयोजकबाट हटाउने प्रस्ताव आएपछि उत्पन्न विवाद र तनावका बीच संघीय समाजवादी फोरम नपालको आइतबारदेखि जारी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । 

पार्टीका संगठन विभाग प्रमुख रामसहाय यादव र कार्यालय सचिव प्रकाश अधिकारीले प्रदेश २ संयोजकबाट रेणुलाई पदमुक्त गर्ने प्रस्ताव गरेपछि भएको चर्काचर्कीपछि बुधबार बैठक स्थगन भएको हो । 

बैठक स्थगन हुनुअघि उपाध्यक्ष हेमराज राईलगायतको दबाब र आग्रहपछि रेणुलाई प्रदेश संयोजकको जिम्मेवारीबाट हटाउने प्रस्ताव फिर्ता गरिएको छ भने दुराग्रही ढंगबाट प्रस्ताव आएको भन्दै संयोजकबाट राजीनामा दिएकी रेणुले समेत राजीनामापत्र फिर्ता लिएकी छिन् । 

रामसहाय र अधिकारीको प्रस्ताव संविधान दिवसका अवसरमा गत असोज ३ गते पार्टी प्रदेश कमिटीको कालो दिवस मनाउने निर्णयले पार्टीो साखमा धक्का पुगेको सांगठनिक अनुशासन बिथोलिएको भन्दै रेणुलाई प्रदेश संयोजकबाट हटाएर पार्टी कोषाध्यक्ष विजयकुमार यादवलाई त्यस पदमा नियुक्त गर्ने प्रस्ताव बुधबारको बैठकमा प्रस्ताव गरेका थिए । पार्टी कोषाध्यक्ष यादव अहिले फोरम नेतृत्वको प्रदेश २ सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री हुन् । 

‘कालो दिवस मनाउने प्रदेश कमिटीको निर्णयले सिंगो पार्टीलाई क्षति पुग्यो र जनतामाझ नकारात्मक सन्देश प्रवाहित भयो भन्ने गलत विश्लेषणका आधारमा बलात् रेणुजीको संयोजक पद खोस्ने षड्यन्त्र गरियो,’ रेणुनिकट एक पार्टी पदाधिकारीले भने, ‘पार्टीभित्रका गैरमधेसी पदाधिकारी र रेणुजीको कुशलता तथा उचाइबाट डाहा गर्ने केही मधेसी पदाधिकारीसमेतको मिलेमतोमा यस्तो षड्यन्त्र रचिएको थियो । तर, अध्यक्षजीको समझदारीले गर्दा यस्तो प्रपञ्च सफल हुन सकेन ।’

बैठकमा विधि र प्रक्रियाविपरीत हठात् रेणुको पदाधिकार खोस्ने प्रस्ताव आएको भन्दै केही पदाधिकारीले चर्को असन्तुष्टि र प्रस्तावप्रति विमति जनाएपछि अध्यक्ष यादवले बीचबचाउ गर्दै त्यसक्रममा संयोजक पदबाट राजीनामा दिएकी रेणुलाई राजीनामा फिर्ता लिन निर्देशन दिँदै प्रस्तावसमेत बैठकको छलफल सूचीबाट हटाएका थिए । 

पदबाट हटाउने प्रस्ताव आएलगत्तै रेणुले समेत आफूसँग स्पष्टीकरणसमेत नसोधी अचानक पदमुक्त गर्ने प्रस्ताव पार्टी विधान र पद्धतिविपरीत रहेको भन्दै बैठकमै आक्रोश व्यक्त गरेका थिए । 

रेणुमाथि प्रदेश २ मा अवैधानिक र अनुचित तरिकाले जिल्लाहरूमा इन्चार्ज र सहइन्चार्ज तोकेको आरोप लागेको छ । गत असोज २१ गते प्रदेशा जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकिँदा प्रदेश कमिटीले विधानको ख्याल नगरी र वरिष्ठतासमेतलाई मिचेर काम गरेको भन्दै असन्तुष्ट जिल्ला अध्यक्षहरूले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । 

पार्टी संगठन विभागले ल्याएको पदमुक्तिसम्बन्धी प्रस्तावमा रेणुले विधानविपरीत इन्चार्ज र सहइन्चार्जमा कनिष्ठहरूलाई नियुक्त गरेर पार्टी संगठन कमजोर बनाएको र जिल्ला नेतृत्वको मनोबल गिराएको दाबी गरिएको थियो । रेणुनिकट एक नेताले भने इन्चार्ज र सहइन्चार्ज नियुक्तिमा केही त्रुटि भए पनि विधानविपरीत नै नभएको आरोप गलत रहेको दाबी गरे ।

उनले भने, ‘केही ठाउँमा कनिष्ठ पनि इन्चार्ज र सहइन्चार्ज भए । तर, असोज १८ गते नै उनीहरूलाई प्रदेश सल्लाहकार नियुक्त गरी वैधानिक रूपमा ती पद ग्रहणयोग्य बनाइसकिएको थियो ।’ पार्टी विधानमा जिल्ला इन्चार्ज र सहइन्चार्ज अध्यक्षभन्दा कम्तीमा एक तहमाथिको पदाधिकारप्राप्त व्यक्ति हुनुपर्ने उल्लेख छ ।

विवादको अन्तर्य 

पदाधिकारी बैठकमा संगठन विभागले प्रदेश संयोजकबाट रेणुलाई हटाउने प्रस्ताव आएको देखिए पनि अध्यक्ष उपेन्द्रकै चासोमा यस्तो प्रस्ताव आएको अड्कल गरिएको छ । तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारमा ससर्त जानुपर्ने र सरकारमा जाँदा अध्यक्षबाहेकका व्यक्तिले नेतृत्व गनुपर्ने रेणुको अडानबाट बिच्किएका अध्यक्ष उपेन्द्र सरकारमा पार्टीको सहभागिता हुनुअघिदेखि नै रुष्ट रहँदै आएका थिए । 

सरकारमा जानुअघि रेणुको अगुवाइमा भएको दुईबुँदे सहमतिमा संविधान संशोधन हुनुपर्ने र आन्दोलनक्रममा मधेसीमाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने सर्त राखिएका थिए । यी सर्त सरकार सञ्चालनमा बाधक हुने भन्दै उपेन्द्रनिकट गैरमधेसी पदाधिकारीहरूले सहमति गर्न बाध्य तुल्याउने रणुका बारेमा जथाभाबी कुरा लगाएका थिए ।

‘हाम्रो अध्यक्षजी कानको अलिक ‘कच्चा’ हनुहुन्छ । कसैले कसैका बारेमा जेसुकै भने नि पत्याउने । रेणुजी पनि यसकै शिकार बन्नुभयो,’ रेणुनिकट एक नेताले भने ।

कालो दिवसका पक्ष वा विपक्षमा अन्तिम समयसम्म कुनै प्रतिक्रिया नजनाएका उपेन्द्रले असोज ३ गते कालो दिवस मनाउने प्रदेश कमिटीको निर्णय पार्टीको आधिकारिक लाइन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालयबाट विज्ञप्ति जारी गर्न लगाए । 

जसले गर्दा अध्यक्ष उपेन्द्र र उपाध्यक्ष रेणुबीचको राजनीतिक दूरी अझै बढ्न गयो । प्रदेश कमिटीले पछिल्ला दिनमा गर्ने विभिन्न निर्णयमा अध्यक्ष यादवको पूर्वसहमति नलिइएकाले त्यो दूरी थप विस्तार हुँदै रेणुलाई प्रदेश संयोजकबाटै हटाउने तहमा आइपुगेको फोरमका एक नेताले बताए । 

अब के हुन्छ ?

फोरम अध्यक्ष उपेन्द्रलाई चिन्नेहरू भन्छन्, ‘उनी निकै जिद्दी मान्छे हुन् । कसैलाई तह लगाउनुपर्‍यो भने जसरी भए नि लगाउँछन् । तत्काल कुनै आन्तरिक समझदारी नभए प्रदेश संयोजक पदबाट रेणुले हात धुनुपर्नेछ ।’

फोरम सुत्रका अनुसार केही दिनका लागि स्थगित पदाधिकारी बैठक छिट्टै बस्ने र रेणुलाई पदाधिकारमुक्त गर्ने प्रस्ताव फेरि पनि ब्युँतनेछ । प्रदेश संयोजकमा विजयलाई ल्याउने प्रस्ताव रेणुको अवश्यम्भावी विस्थापन भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्