यातायात कार्यालय प्रमुख भन्छन्: हाे पैसा लिएर लाइसेन्स वितरण गरेका हाैं



कैलाली : कैलालीका युवाहरुले सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीमा भइरहेका अनियमितताविरुद्व बारम्बार दवाव दिन थालेका छन् । युवासंघ केन्द्रीय सदस्य विनय शाहको नेतृत्वमा युवा संघले बारम्बार खबरदारी गर्दै आएको हाे । 

 

गत भाद्र २० गते युवासंघ नेपाल कैलालीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पुर्वधार विकास मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । 

 

ज्ञापनपत्रको अवज्ञा गरेको र यातायात कार्यालयमा अनियमितता र भ्रष्टाचार नरोकिएको भन्दै फेरी बुधबार यातायात व्यवस्था कार्यालय धनगढीमा युवा संघले खबरदारी गरेको हो । यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलेमतोमा मोटो रकम अशुलेर ट्रायलमा अनुत्तिर्णहरुलाई समेत लाईसेन्स प्रदान गर्ने परिपाटी अन्त्य हुनुपर्ने युवासंघले माग राख्दै आएको छ । 

 

युवासंघ नेपाल नगर कमिटी उपाध्यक्ष ओम चन्दले लाइसेन्सहरु रुपयाँ लिएर बिक्री गर्ने प्रवृत्ति देशकै यातायात सुरक्षामा खतरा निम्त्याएको बताए । उनले यस प्रदेशमा वर्षेनी बढ्दै गएका दुर्घटनाको मूल कारण यातायात व्यवस्था कार्यालयकै कमजोरी रहेको बताए ।

 

युवासंघ नेपालका केन्द्रीय सदस्य मदन रेग्मीले सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढी भ्रष्टाचारको अखडा बनेको आरोप लगाए । उनले खासगरी सवारीसाधन चालक अनुमति पत्र वितरणमा हुने अनियमितता लाजमर्दो भएको बताए । 

 

यातायात व्यवस्था विभाग कार्यालय धनगढीका कार्यालय प्रमुख बिसनसिंह थापाले पैसा लिएर लाईसेन्स वितरण गर्ने परिपाटी भएको स्वीकार गर्दै चाँडै अन्त्य हुने आश्वासन दिए ।

 

उनले यातायात व्यवस्था कार्यालयमा थुप्रै कमी कमजोरी भए पनि प्रदेश सरकारसँग समन्वय गरी छिटै समाधान गर्ने थापाले जानकारी दिए । लाइसेन्स वितरण प्रक्रियामा हुने अनियमिता नरोकिएमा युवासंघ नेपाल नगर कमिटी कैलालीले थप विरोधका चरणमा प्रवेश गर्ने समेत खबरदारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्