सुनसरी : सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी दुहबी नगरपालिका– ९ स्थित रानीगाउँनजिकै पुगेका थिए ।
गाउँकै छेउमा जय बाबा इँटा उद्योग छ । नेपाल विद्युत प्राधिकरणको स्थायी जागिरे हुसेन उद्योगका सुपरभाइजर समेत हुन् । इँटा बनाउने काम चलिरहेको उद्योगमा पुगेपछि सँगै रहेकी श्रीमती आशालाई घर फर्काएर हुसेन उद्योगतर्फ लागे ।
उद्योग पुग्न सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको पुल पार गर्दै जानुपर्थ्यो । पुलछेउबाट श्रीमतीलाई घर फर्काएर उद्योगतर्फ लागेका हसुेन गन्तब्य पुग्न पाएनन् ।
पुल कट्नेबित्तिकै उनीमाथि गोली प्रहार भयो । प्रत्यक्षदर्शीसमेत रहेकी श्रीमती आशा खातुन आफूहरु जाँदा पुलमा एक्सरसाइज गर्दै (ढुकेर) बसेको व्यक्तिले गोली हानेर भागेको बताउँछिन् ।
‘मलाई घर फर्किनू भनेर उहाँ काम छ भन्दै भट्टा जानुभयो’, पति वियोगमा विछिप्त बनेकी आशाले भनिन्, ‘म घर फर्कदै गर्दा ठूलो आवाज आयो । फर्केर हेर्दा उहाँ ढल्नुभएको थियो ।’
गोली चलेपछि फर्केर हेर्दा पातलो जीउको व्यक्ति भाग्दै गरेको देखेको आशाले बताइन् । ‘एक्ससाइज गर्दै गरेको मान्छे चिनिनँ’, उनले भनिन्, ‘पुल छेउमा मोटरसाइकल रोकेको थियो ।’
हुसेन ढलेको देखेपछि गुहार माग्दै आशा घटनास्थल पुग्दा उक्त व्यक्ति मोटरसाइकलबाट नहरको बाटो हुँदै उत्तरतर्फ भागेको उनले बताइन् ।
सुनसरीका प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि विस्तृत अनुसन्धान भइरहेको छ ।