कौडीको भाउमा भाडा



काठमाडौं : सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ ।

शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको हो ।

भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्राणनाथ क्याफेलाई दिइएको हो ।

क्याम्पस र क्याफेबीच असोज २२ मा भएको सम्झौताअनुसार एक रोपनीको वार्षिक ७ हजार १ सय ७५ तिर्नुपर्छ । मध्यपुर ठिमी–२, सानोठिमी क्याम्पसको पूर्व, काठमाडौंबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच बाटोको पश्चिमतर्फको यो जग्गा सानोठिमी फुटबल मैदानअगाडिको मूल सडकसँगै जोडिएको छ ।

शिक्षकलाई राख्न लाखौं खर्चेर बनाएको क्वार्टरसमेत भाडामा दिइएको जग्गाभित्रै पर्छ । क्याम्पस र क्याफेबीच भएको सम्झौतामा क्वार्टरको विषय उल्लेख छैन । सम्झौताअनुसार शिक्षकका लागि बनाइएको क्वार्टरसमेत ठेक्का पाएकै व्यक्तिले उपयोग गर्न पाउनेछन् ।

क्याम्पस कार्यसमिति सदस्य सोमनाथ ढकालले गुपचुपमा व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा दिने निर्णय गरिएको आरोप लगाए । ‘हामीलाई बाइपास गरेर यस्तो निर्णय भएको छ, यहाँ बेइमानी भएको छ,’ उनले भने, ‘शिक्षकलाई राख्न बनाइएको क्वार्टरसमेत पर्ने गरी भाडामा लगाइयो ।’

पेप्सीकोला पुरानो ठिमीको फराकिलो सडकसँग जोडिएको र तीनतिरै फराकिलो बाटो भएको जग्गा सस्तो दरमा भाडा दिइएपछि नगरपालिकाले समेत चासो देखाएको छ ।

‘मूल सडकभन्दा भित्रको मेरो जग्गा बाली लगाउनेलाई मासिक १५ हजार भाडामा दिएको छु,’ मध्यपुर थिमी नगरपालिका–२ का वडाध्यक्ष राम थापाले भने, ‘मूल सडकमा जोडिएको जग्गा यति सस्तोमा दिँदा चलखेल भएको हुन सक्छ । छानबिन होस् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्