पुल नहुँदा १० मिनेटको बाटोलाई डेढ घन्टा



सिरहा : सखुवानन्कारकट्टी–१ बाट वडा नं. ५ खयरबोनास्थित गाउँपालिका केन्द्र झन्डै पाँच किलोमिटर टाढा छ । साइकलबाट त्यहाँ पुग्न १० मिनेट लाग्छ । तर, बीचमा पर्ने कटनीया खोलामा पुल नहुँदा स्थानीय घुमाउरो बाटोबाट डेढ घन्टा लगाएर पुग्ने गरेका छन् ।

वडा नं. १ का वडाध्यक्ष शुभनारायण यादवका अनुसार पुल नहुँदा स्थानीयले ३३ किलोमिटर यात्रा गर्नुपरेको छ । यादवले भने, ‘पुल नहुँदा गाउँपालिका केन्द्र रहेको खयरबोना पुग्न मौवाही, सीतापुर, लहान हुँदै घुमेर जानुपर्छ ।’ गाउँबाट लहान २० किलोमिटर टाढा छ भने गाउँपालिका केन्द्र १३ किलोमिटर टाढा छ ।

गाउँपालिकाले वडा नं. १ र ३ मा पर्ने सो खोलामा पुल बनाउने भएको छ । पुलको ठेक्का पनि लागिसकेको गाउँपालिकाका अध्यक्ष केदारप्रसाद यादवले बताए । सो पुल अजय वामती जेभीले बनाउनेछ ।

पुल २० मिटर लम्बाइ र सात दशमलव दुई मिटर चौडाइको हुनेछ । पुलको बुधबार शिलान्यास भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले चार करोड ९२ लाख बजेट छुट्याएको छ ।

पुल निर्माणको सम्झौता गत २५ साउनमा नै भएको थियो । पुलको निर्माण १८ महिनामा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलले दर्जन गाउँलाई जोड्ने वडा नं. १ का वडाध्यक्ष शुभनारायण यादवले बताए ।

पुलले सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी र बरियारपट्टी गाउँपालिकाका दर्जन गाउँलाई जोड्नेछ । सखुवानन्कारकट्टी गाउँपालिकाको लतियाही, मधुवनी, मौवाही, भौर, कटैया, लक्ष्मीपुर पतारीको पत्थरगाढा, खरुकियाही तथा बरियारपट्टीको नरगी, गोविन्दपुर गाउँका बासिन्दालाई ओहोरदोहोर गर्न सजिलो हुनेछ । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्