८ हजार स्वास्थ्यकर्मी मन्त्रालयको अभिलेखबाहिर



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका आठ हजार स्वास्थ्यकर्मी अभिलेखबाहिर रहेको पाइएको छ । निजामती कर्मचारी किताबखानाले उपलब्ध गराएको विवरणअनुसार आठ हजार स्वास्थ्यकर्मी मन्त्रालयको अभिलेखबाहिर रहेको  पाइएको हो ।

सरकारी सेवामा आबद्ध भएपछि सबै कर्मचारीले आफ्नो व्यक्तिगत विवरण निजामती कर्मचारी किताबखानामा बुझाउनुपर्छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत ठूलो संख्याका स्वास्थ्यकर्मीले व्यक्तिगत विवरण नबुझाएका कारण कर्मचारी संख्याबारे मन्त्रालय अन्योलमा छ ।

मन्त्रालयले कर्मचारी समायोजन प्रयोजनका लागि अस्थायी संगठन संरचना स्वीकृत गरी कामकाजमा कर्मचारी खटाएको थियो । हाल स्थायी रूपमा संगठन संरचना तय गरी कुनै पनि कर्मचारी फाजिलमा नपर्ने हिसाबले व्यक्तिगत विवरण संकलन थालिएको छ । मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयमा परिपत्र गरेको छ ।

मन्त्रालयले परिपत्रमा भनेको छ, ‘खारेजीमा परेका क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर र जिल्ला स्वास्थ्य–जनस्वास्थ्य कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई स्वीकृत दरबन्दीअनुसार कामकाज गर्न खटाई कर्मचारी व्यवस्थापन गर्ने र खटाएको विवरण र खटाउन बाँकी कर्मचारीको विवरण संघमा उपलब्ध गराउनु होला ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्